समाचार

बाल विवाह अन्त्य गर्न प्रभावशाली व्यक्तिहरूको भूमिका विशेष ‘योर म्यासेज म्याटर्स’ कार्यक्रम सम्पन्न

देश सञ्चार डटकम । २०८२ जेठ २० गते

काठमाडौँ- बाल विवाह अन्त्यका लागि प्रभावशाली व्यक्तिहरूको भूमिकालाई प्रोत्साहन गर्न ‘इन्फ्लुएन्सर फर अ कज: योर म्यासेज म्याटर्स’ कार्यक्रम सम्पन्न भएको छ।

सोमबार काठमाडौँको झम्सिखेलस्थित होटल भिभान्तामा गरिएको उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रमा कार्यरत भई सामाजिक रुपमा योगदान पुर्याएका प्रभावशाली व्यक्तिहरूको सहभागीता रहेको थियो।

प्लान इन्टरनेस्नल सहकार्यमा महिला सेवा संस्था नेपालले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेतले विवाहको उमेर १८ वर्ष बनाउने कुराको विरोध गरेकी छन्। ‘विवाह शारीरिक सम्बन्धका लागि मात्र होइन। त्यो उमेर भनेको बहकिने उमेर हो। पूर्ण परिपक्क हुने र भविश्य बनाउने उमेरमा विवाह गर्न उक्साउने कानुन बनाउनु हुँदैन,’उनले भनिन्। कसुर र त्यससँग सम्बन्धित कुरा बहसको विषय भएको बताउँदै विवाहको उमेर घटाएर बाल विवाह रोकिने भन्ने कुरा सान्दर्भिक नरहेको टिप्पणी उनले गरेकी हुन्।

यस्तै, महिला सेवा संस्था नेपालकी अध्यक्ष अधिवत्ता भावना भट्टले पनि विवाहको उमेर घटाउने कुरामा असहमती जनाएकी छन्। बाल विवाहले पार्ने शारीरिक, मानसिक, आर्थिक असरका पक्षलाई जोड्दै कुनै एउटा घटनालाई लिएर समग्र कानुननै परिमार्जन गर्ने कुरा गलत भएको उनले जिकिर गरेकी हुन्।

यसैगरी, प्लान इन्टरनेस्नलका एड्भोकेसी म्यानेजर इर्साद अन्सारीले बाल विवाह जस्तो जटिल विषयमा प्रभावशाली व्यक्तिहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सबैले आ-आफ्नो ठाउँबाट यस विषयमा आवाज उठानका लागि आह्वान गरे। उनले यस विषयमा सबै तहबाट सक्दो हल भए निर्मलीकरणमा सहज हुने बताए।

कार्यक्रममा बोल्दै एसिड आक्रमण पीडित मुस्कान खातुनले आफूलाई जस्तोसुकै परिस्थितिमा पनि बलियो र सक्षम राख्न सबैले पहल गर्नुपर्नेमा जोड दिइन्। कुनैपनि आफ्ना अनुभवहरू सुनाउँदै उनले त्यस घटनापश्चात् आफूमा समाजका लागि केही गर्नुपर्छ भन्ने भावनको विकास भएको बताउँदै सबैलाई त्यस कार्यमा लाग्न आह्वान गरेकी हुन्।

कार्यक्रममा बाल विवाह, त्यसको प्रभाव र समाजिक सचेतनालाई समेटिएको भिडियो समाग्री पनि प्रस्तुत गरिएको थियो। सोही विषयसँग सम्बन्धित कविता र गजल वाचनका साथै लाइभ आर्ट पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सामाजिक अभियन्ता, राजनीतिकर्मी, कानुनव्यावसायी, लेखक, कवि, पत्रकार, पूर्वमिस नेपाल, खेलाडी, कलाकारलगायत विभिन्न क्षेत्रमा क्रियाशील प्रभावशाली व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Source: https://shorturl.at/5vhTg